मध्य नेपाल

अब घरमै बसेर कम्पनी दर्ता गर्न सकिने



मोहनचन्द्र रुम्बा, कालिका

जेष्ठ, १४ । चितवन

के तपाई आफ्नो व्यवसायीक कम्पनी दर्ता गर्ने तयारीमा हुनु हुन्छ । यदि त्यसो हो भने, अब घरमै बसेर कम्पनी दर्ता गर्न सक्नु हुनेछ ।

सुचना प्रविधिको विकास क्रम संगै कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरले अनलाईन सेवा प्रदान गर्ने भएपछि घर मै बसेर कम्पनी दर्ता गर्न सकिने भएको हो । कार्यालयबाट हुने कम्पनी दर्ताको काम कार्बाहीलाई सहज र सरल तुल्याउने उद्देश्यले सेवा सुचारु गर्ने तयारी गरेको कार्यालयले आज नारायणगढमा एक कार्यक्रमका बीच जानकारी दिएको हो ।

परम्परागत प्रणालीबाट कम्पनी दर्ता गराउँदा झन्झटिलो भएकोले अनलाईन सेवाबाट घरमै बसेर कम्पनी दर्ता गर्न सकिने व्यवस्था सुरु गर्न लागिएको कार्यालयका डेपुटी रजिष्ट्रार तोयानाथ अधिकारीले जानकारी दिनुभयो । यससंगै कार्यालयले उद्योग बाणिज्य संघसंगको समन्वयमा कम्पनी दर्ताका लागि सेवा केन्द्र स्थापना गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ईन्जिनियर शंसरजन देवानले अनलाईन सेवा समयको माग र सेवाग्राहीहरुको समस्या समाधनको उत्तम विकल्प भएको बताउनुभयो । साथै यस सेवा मार्फत कम्पनी दर्ता प्रक्रिया, ऐनमा भएको व्यवस्था आदी जानकारी लिन सकिने उहाँले बताउनुभयो ।

अनलाईन सेवा सुरु भएको एक महिना नबित्दै ८० वटा कम्पनी अनलाईन सेवा मार्फत दर्ता भैसकिएको र २०४ वटा दर्ता भैसकेका कम्पनीले अनलाईन सेवा मार्फत सेवा लिने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । कार्यालयमा हाल एक लाख १४ हजार कम्पनीहरु दर्ता भैसकेको तथ्याङ्क रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यालयका रजिष्ट्रार शंकर अर्यालले छिटो र सुरक्षित सेवाका लागि अनलाईन सेवा उत्तम विकल्प भएको बताउनुभयो । त्यस्तै उहाँले सरकारी कार्यालयहरु मध्ये अनलाईन सेवा संचालन गर्ने पहिलो कार्यालयको रुपमा कम्पनी रजिष्ट्रार कार्यालय रहेको दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघका उद्योग समिति संयोजक दिनेश श्रेष्ठले कम्पनी दर्ता ऐनलाई व्यवस्थित गरिनुपर्ने बताउनुभयो । साथै उहाँले कम्पनी दर्ताको लागि काठ्माण्डौं जाने झन्झटबाट व्यवसायीहरु मुक्त भएको बताउनुभयो ।

साथै कम्पनी दर्ता प्रक्रिया राम्रोसंग जानकारी नहुँदा जरिवाना तिर्न व्यवसायीहरु बाध्य हुने गरेको कार्यक्रममा बताईएको थियो । कार्यालयले व्यवसायीहरुबाट जरिवाना स्वरुप बार्षिक २६ करोड रुपैँया भन्दा बढी संकलन गर्ने गरेको बताईएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराई, बरिष्ठ उपाध्यक्ष कल्याण जोशीलगायतले बोल्नुभएको थियो । कार्यक्रम रजिष्ट्रार कार्यालयका रजिष्ट्रार शंकर अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Sumdhur Awaaz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award