अन्तर्राष्ट्रिय

सिरियाली पछिल्लो हिंसामा ११६ को मृत्यु

 

सिरिया वास्तविक युद्धको अवस्थामा छ– राष्ट्रपति असाद
 
दमासकस, १३ असार । सिरियामा जारी हत्या हिंसाका क्रममा मङ्गलबार कम्तीमा पनि ११६ को ज्यान गएको समाचारमा जनाइएको छ । मङ्गलबार देशका विभिन्न क्षेत्रमा सरकारी सैनिक प्रदर्शनकारी प्रतिपक्षी तथा सरकार समर्थित हतियारधारी समूहका बीचमा छुट्टाछुट्टै भिडन्तहरु भएका थिए ।
 
बितेको चौध महिनाभन्दा लामो समयदेखि त्यहाँ जारी रहेको राष्ट्रपति बसार अल–असाद विरुद्धको अन्दोलनका क्रममा हिजो भएको हिंसामा परी ती नागरिकको मृत्यु भएको सिरियाको आन्दोलनलाई अनुगमन गरिरहेका विश्वका मानवअधिकारवादीहरुले जनाएका छन् ।
 
सो समाचारको सिरियाली अधिकारीहरुले पनि पुष्टि गरेका छन् । हिजो देशका प्रमुख सहरहरुमा भिडन्तहरु रातिसम्म नै जारी रहेका बताइएको छ । सो क्रममा अरुपनि कयाँैं नागरिक घाइते भएका पनि समाचारमा जनाइएको छ ।
 
सिरियाली आन्दोलनको व्यापक मात्रामा अनुगमन जारी राखेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको जानकारी अनुसार पछिल्लो हिंसामा पनि सरकारी सेनाले व्यापक रुपमा दमन गरेका थियो । हिजोको उक्त हिंसामा मारिनेमा ६८ जना सर्वसाधारण नागरिक रहेका छन् ।
 
सो मानवअधिकारवादी संस्थाले हिजो मारिनेमा सरकारी सेना पनि रहेका छन् । सो संस्थाका अनुसार यसरी मारिने सरकारी सेनाको सङ्ख्या कम्तीमा ४० जना रहेको समाचार प्राप्त भएको छ ।
 
पछिल्लो हिंसाका क्रममा कम्तीमा पनि २८ सर्वसाधारण राजधानी दमास्कसमा मारिएका छन् । त्यसैगरी अरु १५ जना हमा सहरमा मारिएका छन् भने कुद्सी सहरमा ११ जना मारिएका छन् । 
  उता गत शनिबार मात्र टर्कीको एउटा युद्धपोत विमानलाई सिरियाली अधिकारीहरुले गोली हानी खसाली दिएको समाचारले पनि सिरियामा निकै ठूलो समस्या उत्पन्न भएको छ । सो विषयमा उत्तर एटलान्टिक सन्धी सङ्गठन नेटोले व्यापक मात्रामा विरोध जनाएको छ । 
 
सुरुमा सो विमान खसालेको बारेमा सिरियाली अधिकारीले अस्वीकार गरेको भए पनि सिरियाली सेनाका प्रवक्ताले सो विमान शङ्कास्पद लागेको र सिरियाली भूमिमा बिना अनुमति र निकै होचोगरी उडेपछि आशङ्का लागि खसालेको जानकारी दिनुभएको थियो ।
सो घटनाको टर्कीले निन्दा गरेको छ । आफ्नो विमान खसालेको विषयमा टर्कीले सिरियासँग बदला लिने पनि बताएको छ । शङ्कास्पद लागेर विमान खसालिएको भन्ने सिरियाली अधिकारीको भनाइ हास्यास्पद रहेको प्रतिक्रिया टर्कीका राष्ट्रपतिले दिनुभएको छ ।
 
त्यसैगरी सो विमानका विषयमा हिजो नेटोले पनि निन्दा गरेको छ । नेटोका प्रमुख फोघ रासमुसेनले हिजो यस्तो घट्नाको सबैले निन्दा गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । 
 
यसैबीच देशभर आक्रमणमा ११६ जनाभन्दा बढी सिरियालीको ज्यान गइरहेका बेला यता राष्ट्रपति बसार अल असादले भने नयाँ मन्त्रिमण्डललाई आतङ्ककारीहरुको आक्रमणलाई रोक्न अझ सशक्त बन्न पनि सरकारी सुरक्षा निकायलाई आदेश दिनुभएको छ ।
 
उहाँले देशमा हाल जारी रहेको हत्या हिंसा आफ्ना कारणले वा देशको सेना वा सुरक्षा निकायले नगरेको पनि स्पष्ट गर्नुभएको छ । विपक्षीहरुलाई पश्चिमा राष्ट्रहरुले उचालेर यस्ता काममा उक्साउने गरेको उहाँले बताउँदै आउनुभएको छ । 
 
उहाँले सिरिया हाल युद्धको अवस्थामा रहेको घोषणा पनि गर्नुभएको छ । सिरियाका सरकारी सञ्चारमाध्यमलाई दिनुभएको एक अन्तरवार्तामा उहाँले भन्नुभएको छ– हाल हामी वास्तविक रुपको युद्धको अवस्थामा छौं र जनताका पक्षमा हामी युद्ध गरिरहेका छौं । 
 
यसैबीच राष्ट्रपति असादले शनिबार नयाँ सरकार गठन गर्न एक आदेश जारी गर्नु भए बमोजिम प्रधानमन्त्री डा रियाद हिजाबको अध्यक्षतामा नयाँ सरकार गठन गरिएको छ । तर पनि प्रमुख मन्त्रालय भने उहाँले आफैसँग राख्नुभएको समाचारमा जनाइएको छ । 
 
सिरियाका पूर्व कृषिमन्त्री हिजाबलाई प्रधानमन्त्रीको भूमिका दिइएको छ । सिरियामा शुक्रबार मात्र पनि १०० जनाभन्दा बढीको ज्यान गएको थियो । शुक्रबार त्यहाँ ११६ व्यक्तिको मृत्यु भएको थियो र त्यसमा ६९ सर्वसाधारण नागरिक परेका छन्– सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको छ । 
 
सिरियाका लागि अन्तर्राष्ट्रिय दूत कोफी अन्नानले विश्वलाई सिरियाको सरकार तथा प्रतिपक्षी दललाई हिंसाको अन्त्यका लागि दबाब दिन आग्रह गर्नुभएको छ । उहाँले गएको अप्रिल महिनामा अघि सारेको युद्ध बिरामको भने पालना हुनसकेको छैन । 
 
सिरियामा सन् २०११ को मार्चदेखि सुरु भएको सरकार विरोधी आन्दोलनका क्रममा अहिलेसम्ममा करिब १५ हजार जना नागरिकको ज्यान गइसकेको जनाइएको छ । त्यसैगरी सो आन्दोलनका क्रममा हजारौंको अङ्गभङ्ग भएको समाचारमा जनाइएको छ । 
 
संयुक्त राष्ट्र सङ्घले नै पछिल्लो समयमा सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार त्यहाँ हालसम्ममा कम्तीमा पनि १५ हजार व्यक्तिको मृत्यु भइसकेको छ । सो हत्या हिंसाको समाधानका लागि राष्ट्रपति बसार अल असादले राजिनामा दिनुपर्ने शर्त राखिएको भए पनि उहाँले भने सत्ता नछोड्ने जनाउँदै आउनुभएको छ । रासस÷एएफपी

Post Comment

More अन्तर्राष्ट्रिय

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event