अर्थ - वाणिज्य

असार १५ मा पनि सित्तल खोज्दै म्याग्देली कृषक

 

अमृत बास्कुने  म्याग्दी बेनी १५ असार
नेपालीहरुको महान महिनाका रुपमा लिइने असार महिनाको प्रत्येक दिनको निकै महत्व रहेको छ । असार महिनालाई मानो रोपेर मुरी फलाउने दिनका रूपमा पनि चिनिन्छ । त्यही मुरी फलाउने महिना यस वर्ष भने पर्याप्त वर्षा नभएपछि म्याग्दीका किसान चिन्तित बनेका छन् । 
 
असार महिनाको आधा समय वितेर आज असार पन्ध्रको दिन सम्म आउँदा पनि किसानलाई रोपाइँको माचो हुनुपर्ने हो तर यस वर्ष भने अहिले उनीहरू  खेतमा नभई दिनको टण्टलापुर घामले गर्दा छाहारी खोज्दै रुखका फेद र चौतारीका शीतलमा बसेर समय बिताउन बाध्य भएका छन् । म्याग्दी जिल्लामा यस भन्दा अघिल्ला वर्षहरुमा धान खेती हुने भुभागको झण्डै आधा रोपाइँ सकिने समयसम्म पनि यो वर्ष भने रोपाइँ सुरुवात मात्रै भएको छ ।
 
जिल्लाका कहीँ कतै सिँचाइ सुविधा पुगेका र पानीको स्रोत भएका ठाउँमा सामान्य रोपार्इं भए पनि अधिकांश गाविसमा पानीको अभाव हुँदा अझै सम्म रोपाइँ हुन सकेको छैन । केही दिनअघि सामान्य वर्षा भएपनि राम्रो वर्षा नहुँदा सबै किसान रोपाइँमा लागे पनि फेरि वर्षा रोकिएकाले रोपाइँमा समस्या भएको पिप्ले गाविसका किसान जितबहादुर भण्डारीले बताउँछन् । अझै केही दिन वर्षा नभए खेतमा रोपेको धान र ब्याडमा भएको बीउ दुवैमा नोक्सानी हुने डरले किसान अहिले चिन्तित बनेका छन् ।
 
म्याग्दी जिल्लाको कुल क्षेत्रफलमध्ये २१ हजार ६६८ हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्याल्यको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये ३ हजार ८ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कार्यालयका प्राविधिक सहायक हेम शर्मा तिवारीले बताए । जिल्लामा कालीगण्डकी, रघुगङ्गा, म्याग्दी खोलाजस्ता ठूल्ठूला नदी भए पनि यसबाट कुनै पनि क्षेत्रका कृषकहरुले सिँचाइको सुविधा लिन सकेका छैनन् ।
 
समयमा वर्षा नभएपछि यो वर्ष म्याग्दी जिल्लामा अन्य खाद्यान्न उत्पादन सँगै धानको पनि उत्पादनमा गिरावट आउने आङ्कलन जिल्ला कृषि विकास कार्यालयले गरेको छ । लामो खडेरीका कारण मकै तथा वर्षे वालिमा निकै प्रभा पारेको कार्यालयको भनाई छ ।  जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार अहिले सम्म म्याग्दीका कुल खेतीयोग्य भू–भागमध्ये २० प्रतिशत भू–भागमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ ।
 
सिँचाई सुविधा उपलब्ध भएकामा पनि सात प्रतिशत भूभागमा मात्रै बाहै्र महिना सिँचाइ सुविधा पुगेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत महेशचन्द्र आचार्यले बताए । उनका अनुसार कुल खेतीयोग्य जमिनमध्ये एक हजार ४२५ हेक्टर क्षेत्रफलमा बाह्रै्र महिना र दुई हजार ५१५ हेक्टरमा मौसमी गरी जम्मा तीन हजार ९४० हेक्टर खेत मात्रै सिञ्चित हुने गर्दछ भने बाँकी १५ हजार ५५८ हेक्टर खेतमा सिँचाइ सुविधा अझ सम्म पनि पुग्न सकेको छैन । 
 
यसैबीच, विगत केही वर्षदेखि लामो समयसम्म खडेरी पर्ने समस्याका सामना गर्दै आएका किसानका लागि जिल्ला कृषि विकास कार्यालयबाट सञ्चालन गरिएको साना सिँचाइ विशेष कार्यक्रमबाट केही राहत पुगेको किसानहरू बताउँछन् । कार्यालयले यो वर्ष जिल्लाका विभिन्न गाविसमा खाद्य सङ्कट सम्बोधन कार्यक्रमबाट २७ वटा र सहकारी खेती साना सिँचाइ मल बीउ ढुवानी कार्यक्रमबाट पाँच गरी ३२ वटा साना सिँचाइ आयोजना निर्माण सम्पन्न गरेको जनाइएको छ ।
 
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा वार्षिक नौ हजार ३२४ मेट्रिकटन अर्थात् प्रतिहेक्टर सरदर २.३५ मेट्रिकटन धान उत्पादन हुने गरेको छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा लुम्ले दुई, छुमरुङ, माछापुच्छ«े–३ लगायतका उन्नत जातको धान रोप्ने गरिन्छ । तल्लो भेगमा लुम्ले, बास्मती, सुधारिएको जेठो बुढो, खुमल–४, खुमल–१० लगायतका जातका धान रोप्दै आएको प्राविधिक सहायक तिवारीले जानकारी दिए ।
 
जिल्लामा विशेषगरी उन्नत जातको तुलनामा स्थानीय जातका धानको खेती गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पराल अग्लो हुनु, बढी बास्नादार हुनुजस्ता कारणले गर्दा किसानले स्थानीय मार्सी, गौरीया, गुडुरा, जर्नेली, पहेले लगायतका स्थानीय धान बढी रोप्ने गरेको जनाइएको छ । म्याग्दीमा ताकम, बावियाचौर, अर्मन, रत्नेचौर, ज्यामरुकोट, सिङ्गा, घतान, पात्लेखेत, पिप्ले, भगवती, ताकम, देवीस्थान, दाना, अर्थुङ्गेलगायतका गाविस धान उत्पादनमा पकेट क्षेत्र मानिन्छन् ।
 

Post Comment

More अर्थ - वाणिज्य

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event