देश

रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
सञ्चिता घिमिरे, ललितपुर, ३ वैशाख, रासस
सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको जात्राअन्तर्गत आज कटुवाल दहमा जात्रा मनाइँदैछ । 
 
भारतको कामरुकामक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको दिन भएकाले यो दिन उत्सवका रुपमा मनाइने गरिएको मूल पुजारी कपिल गुरुजुले बताउनुभयो । आज रातभर पानेजु, पुजारीलगायतले पूजाआजा गर्छन् । उहाँ भन्नुहुन्छ, “आज रातभर दहमा नै भव्य रुपमा जात्रा हुने गर्छ ।” भोलि भमराका रुपमा देवतालाई कलशमा राखेर पाटन ल्याइन्छ । वैशाख शुक्ल प्रतिपदा भएकाले भोलि विधिपूर्वक रथारोहण पनि हुन्छ । 
 
उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मत्स्येन्द्रनाथको जात्राअन्तर्गत दशकर्म गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । मत्स्येन्द्रनाथलाई महिला र पुरुष दुवै रुपमा मानिने भएकाले धार्मिक परम्पराअनुसार महिला र पुरुषलाई गरिने दशकर्म पनि गरिँदै आएको हो । यसअन्तर्गत अन्नप्राशन, व्रतबन्ध, गुफा राख्ने, इही गर्ने, बेलविवाहलगायतका कर्म गरिन्छ । 
उहाँले भन्नुभयो “हिन्दू धर्मअनुसारका कर्महरु व्राह्मणले र बौद्ध धर्मअनुसारका कर्महरु बज्राचार्यले गर्दै आएका छन् ।” त्यसपछि विधिवत् रुपमा रथारोहण गराई रथायात्रा शुरु हुन्छ । वैशाख कृष्ण प्रतिपदाका दिन मत्स्येन्द्रनाथको महास्नानबाट जात्राको शुभारम्भ भएको हो । मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिने भएकाले पनि जात्रा आयोजना गर्दा सहकाल लाग्ने जनविश्वास छ । 
 
वैशाख कृष्ण पक्षदेखि मत्स्येन्द्रनाथको दशकर्मसँगै रथ पनि बनाउने गरिन्छ । वैशाख कृष्ण प्रतिपदामा महास्नान गरे पनि वैशाख शुक्ल प्रतिपदा ९अर्थात् भोलि बुधबार० मा रथारोहण गरिन्छ । वैशाख शुक्ल चतुर्थीका दिन ९६ वैशाखमा० रथ यात्रा हुनेछ । स्नानको रात मत्स्येन्द्रनाथको मृत्यु संस्कार गरिने जोशीले बताउनुभयो । मृत्यु संस्कारमा मुर्दाबाजा बजाउने गरिन्छ । छोराको मृत्युबाट दुःखित भएर आमा डोलमाजु रुन्छिन् । उनलाई फकाउन हिरण्यवर्ण महाविहारका गुरुजुहरु आउँछन् ।
 
उनीहरुले तन्त्रहरुको उच्चारण गरेर आमालाई छोरा मरेको छैन र कहिल्यै मर्दैनन् नरुनुहोस् आमा अबको १५ दिनमा यहाँ जात्रा हुनेछ भनेर सम्झाउँछन् । उहाँले भन्नुभयो, “स्नानको भोलिपल्ट वर्षेनी मत्स्येन्द्रनाथको आमाको मन्दिर आसपासमा जात्रामा प्रयोग हुने सामग्री प्रदर्शनी हुँदै आएको छ ।” 
किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पार्ने नागहरूलाई आफ्नो आसन बनाए । बाह्र वर्षसम्म वर्षा नभई अनिकाल परेपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुरमा ल्याएमा उनलाई मनाउन सकिने र सहकाल लाग्ने भन्ने थाह पाए । भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई ल्याउने निर्णय भयो । 
 
भारतको आसाम कामारुकामाक्षेमा रहेका मत्स्येन्द्रनाथलाई बोकेर कान्तिपुर ल्याउने क्रममा उनलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वास कृषक ललितको थियो । उनले निकै चलाखी गर्दै मत्स्येन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मत्स्येन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे ।
 
आफूहरु बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद प¥यो । विवादले निर्णायक मोड नलिएपछि त्यहाँका थकालीले जे निर्णय गर्छन् त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललित रथचक्रले थकालीलाई दहीमा अलिकति नून राखेर खानदिए । थकालीलाई दही खाइसकेपछि त्यसमा नून थियो भनेर जानकारी दिइयो । नूनको सोझो गर्नैपर्ने बाध्यतामा थकालीले मत्स्येन्द्रनाथलाई पाटनमा नै राख्नपर्ने निर्णय गरिदिए । 
 
मत्स्येन्द्रनाथलाई पाटनमा ल्याएको थाहा पाएपछि गोरखनाथले आफ्ना गुरु मत्स्येन्द्रनाथको दर्शन गर्न भनी उठेकाले उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनः सहकाल लाग्यो । मत्स्येन्द्रनाथलाई ल्याएर १२ वर्षपछि पाटनमा वर्षा भएको सम्झनामा वर्षेनी मत्स्येन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आएको छ । बत्तीस लक्षणयुक्त मत्स्येन्द्रनाथको मूर्ति बनाउनका लागि मात्र पनि म्हैपीबाट ३२ किसिमका माटो ल्याइन्छ । 
 
भक्तपुरका राजा र काठमाडौँका गुरुले मत्स्येन्द्रनाथलाई उपत्यकामा ल्याउन ठूलो मद्दत गरेकाले रथयात्राका क्रममा भक्तपुर र काठमाडौँवासीले समेत आएर रथ तान्ने गर्छन् । सुन्धारादेखि लगनखेलसम्मको रथयात्रामा भने रथ तान्ने जिम्मा ललितपुरवासीको हुन्छ । उनीहरुले कृषक ललितको नाममा रथ तान्ने गर्छन् । 
 
पुल्चोकबाट शुरु हुने रथयात्रामा गाबहालसम्म रथ तान्नुपर्ने जिम्मेवारी भक्तपुरवासीको हो भने गाबहालबाट सुन्धारासम्म काठमाडौँवासीको तर निकै पहिलेदेखि नै उनीहरुले रथ तान्न आउन छाडिसकेका छन् । मत्स्येन्द्रनाथको विभिन्न कर्मविधिहरुमा भन्दा पनि रथयात्रामा नै समय धेरै लाग्ने भएकाले पनि जात्रा निकै लामो हुने गरेको छ । 
 
मत्स्येन्द्रनाथको जात्राका लागि यो वर्ष झण्डै रु ७० लाख लाग्ने गुठी संस्थान ललितपुर शाखाका प्रमुख सैलेन्द्रले बताउनुभयो । झण्डै रु ५० लाख रथ निर्माणमा र अरु रकम अरु काममा खर्च हुन्छ । मत्स्येन्द्रनाथको जात्रामा लाग्ने खर्च वर्षेनी बढिरहेको छ । उहाँ भन्नुहुन्छ, “उहाँ भन्नुहुन्छ, “एकातिर काठ र बेतमा बढी रकम परिरहेको छ भने कादारको ज्याला पनि बढिरहेको छ ।” 

Post Comment

More देश

Onair Now Onair Now

Mero Rojai

Started at: 09:20 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award