देश

सप्तरीलाई खुल्ला दिशामुक्त घोषणा गर्न तीव्रता
सप्तरी, १० भदौ
जकर घरमे चर्पी नै ओकर घरमे शादी नै” अर्थात जसको घरमा शौचालय छैन् त्यसको घरमा विवाह नगर्ने मुख्य नाराका साथ अगामी दुई वर्षभित्र सप्तरी जिल्लालाई खुल्ला दिसामुक्त घोषणाको तयारी तीव्र पारिएको छ । 
 
घर घरमा शौचालय निर्माण गराई जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय र स्थानीय सङघ संस्थाहरुले यी नारा अघि सार्दै तयारी तीव्र पारेका हुन् । विगत तीन वर्षदेखि जिल्लामा सञ्चालित खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रम अभियानअन्तर्गत अहिलेसम्म जिल्लाको एउटा गाविस, तीनवटा वडा र दुईवटा टोललाई खुल्ला दिसामुक्त घोषणा गरिसकेको छ । 
 
तत्कालीन कञ्चनपुर गाविसलाई दुई वर्षअघि उपराष्ट्रपति परमानन्द झाले एक कार्यक्रमका बीच खुल्ला दिसामुक्त गाविस घोषणा गर्नुभएको थियो । यसबाहेक, जिल्लाको बिसहरिया गाविस–१, बक्धुवा गाविस–७ र तत्कालीन धरमपुर गाविस–७ लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिसकिएको छ भने नकटी रायपुरगाविसको रामपुर टोल र खोजपुर गाविसको मेघवारी टोललाई खुल्ला दिसामुक्त टोल घोषणा गरिसकिएको सबल नेपाल सप्तरीका निर्देशक दिपककुमार झाले जानकारी दिनुभयो । 
 
खुल्ला दिसामुक्त घोषणा कार्यक्रमअन्तर्गत सन् २०१४ भित्रै जिल्लाको विभिन्न १० वटाभन्दा बढी वडालाई खुल्ला दिसामुक्त वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।
 
 सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने राष्ट्रिय लक्ष्य रहेकाले सो अवधि अगावै यस जिल्लालाई खुल्ला दिसामुक्त घोषणाका लागि तयारी तीव्र पारिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र यादवले जानकारी दिनुभयो । 
 
शौचालय निर्माणका लागि सर्वसाधारणलाई प्रेरित गर्न स्थानीय सङ्घ संस्थाहरुको समन्वयमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुको साथै शौचालय निर्माणमा प्राविधिक सहयोगसमेत गर्दै आएको उहाँले बताउनुभयो ।
 
 एक वर्षअघिसम्म शौचालय निर्माणका लागि पाइप, प्यानलगायतका सहयोग सरकारले गर्दै आएपनि त्यसयता सबै किसिमको सहयोग बन्द गरेपछि खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा केही समस्या भइरहेको प्रमुख यादवले गुनासो गर्नुभयो । 
 
उहाँले भन्नुभयो–‘‘सुरुमा शौचालय निर्माण गर्न पाइप, प्यान, रिङ्गलगायतका सहयोग सरकारीतर्फबाट हुँदा सर्वसाधरणहरु त्यसको लोभले पनि शौचालय निर्माण गर्न उत्सुकता देखाउँथ्यो, तर अहिले सरकारीतर्फबाट सबै सहयोग बन्द भएपछि गाउँका सर्वसाधारणहरु शौचालय बनाउन हिच्किचाइरहेका छन् ।”
 
सरसफाइको दृष्टिकोणले सप्तरी मुलुकमै ७५ औं स्थानमा रहेको एक तथ्याङ्कले देखाएको छ । मुलुकमै सप्तरीको सरसफाइको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यसमा सुधार ल्याई अगामी दुई वर्षभित्र जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न युद्धस्तरमा शौचालय निर्माणको काम भइरहेको प्रमुख यादवले जानकारी दिनुभयो । 
 
जिल्लालाई खुल्ला दिसामुक्त घोषणाको आधारहरु तयार गर्न जिल्लाका सरोकारबाला निकायहरुको संलग्नतामा सरससफाइ स्वच्छता समन्वय समितिहरु निर्माण भइसकेको तथा गाविसहरुमा गाविसस्तरीय र नगरपालिकाहरुमा नगरस्तरीय सरसफाइ स्वच्छता समन्वय समितिहरु समेत गठन गरिसकिएको छ । 
 
 गठन भएका समितिका पदाधिकारीहरुको अगुवाइमा खुल्ला दिसामुक्त अभियानलाई तीव्रता दिएको प्रमुख यादवको भनाइ थियो । तीनवटा नगरपालिका र ९९ गाविस रहेको सप्तरीमा करिब २१ प्रतिशतसँग मात्र शौचालयको पहुँच रहेको छ । करिब ७९ प्रतिशतले अझै खुल्लारुपमा दिसापिसाब गर्दै आएको सबल नेपालका प्राविधिक प्रमुख अशोककुमार साहले बताउनुभयो । 
 
जिएसएफ कार्यक्रमअन्तर्गत वेल र सबल नेपाल सप्तरीले जिल्लाको ३० वटा गाविस, आइडिइ नेपाल नामक संस्थाले ४० वटा गाविसमा र एसएनभी नामक संस्थाले १२ वटा गाविसमा खुल्ला दिसामुक्त अभियान कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 
 
अभियानअन्तर्गत गाउँगाउँका स्थानीयहरुलाई शौचालयको महत्व, खुल्लारुपमा गरिने दिसापिसाबका कारण उत्पन्न हुने समस्याहरुका बारेमा सहजकर्तामार्फत जनचेतनामूलक कार्यक्रमका साथै शौचालय निर्माणका लागि प्राविधिक सहयोग गर्दैआएको ती संस्थाहरुले बताएका छन् । 
 
हामीले गाउँका सर्वसाधारणलाई एक ठाउँका भेला पारेर शौचालय बनाउन प्रेरित गर्छाै, सबल नेपालकी सहजकर्ता तारा कटुवालले भन्नुभयो–‘‘ गाउँका सबैलाई भेला पारेर उनीहरुकै संलग्नतामा सरसफाइ स्वच्छता समन्वय समिति पनि बनाई दिन्छौ, त्यसपछि त्यही समितिले नियमितरुपमा छलफल, बैठकहरु गरी शौचालय निर्माणका लागि गाउँका सबैलाई निर्देशन दिन्छ र निगरानी गर्छ ।” 
 
कतिपय गाविसमा स्थानियवासीकै अगुवाइमा बनेको समितिले सुरुमा शौचालय बनाउन निर्देशन दिन्छ, र नमानेको खण्डमा त्यस्ता व्यक्तिलाई जरिवानासमेत गर्ने गरेको सहजकर्ता कटुवालको भनाइ थियो ।
 
यस्तै, जिल्ला शिक्षा कार्यालय सप्तरी र जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले प्रधानाध्यापक, शिक्षक तथा स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अनिवार्यरुपमा शौचालय बनाउन निर्देशन दिएका छन् । 
 
प्रधानाध्यापक तथा शिक्षकहरुलाई अनिवार्यरुपमा घरमा शौचालय निर्माण गर्न निर्देशन दिइसकेको बताउँदै जिल्ला शिक्षा अधिकारी डिकबहादुर राईले शौचालय नबनाउने शिक्षकहरुको तलब रोक्का गर्ने सोचमा पुगेको बताउनुभयो ।
 
जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेकाले त्यसलाई प्रभावकारी बनाउन समाजका अगुवा मानिने प्रधानाध्यापक तथा शिक्षकहरुको भूमिकासमेत महत्वपूर्ण हुने भएकाले अनिवार्य शौचालय बनाउन निर्देशन दिएको जिशिअ राईको कथन छ । 
 
यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले आफ्ना मातहतका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अनिवार्य शौचालय बनाउन निर्देशन दिइसकेको बताउनुभयो । यसबाहेक जिल्लाका सञ्चारकर्मी, नागरिक समाज र राजनीतिक दलहरुले समेत जिल्लालाई खुल्ला दिसामुक्त बनाउने प्रतिवद्धतासमेत व्यक्त गरिसकेका छन् । रासस       
 
 

Post Comment

More देश

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 02:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 03:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award