राजनीति

सहमतिको सरकारमा जोड

 

काठमाडौँ, १५ असार
विभिन्न राजनीतिक दलका नेताहरूले सहमतिको आधारमा पूर्ण बजेट ल्याउन नयाँ सहमतीय सरकार बन्नुपर्नेमा जोड दिएका छन् । युवा सङ्घ नेपालद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उनीहरूले सहमतिको वातावरण सिर्जना गर्न वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए । 
 
नेकपा–माओवादीका सचिव देव गुरुङले राजनीतिक सहमति नगरी कुनै पनि प्रक्रिया अघि बढाउन नमिल्ने उल्लेख गर्दै सर्वपक्षीय सहमतिमा बजेट ल्याउनुपर्ने बताउनुभयो ।  सहमतिको आधारमा बजेट ल्याउन नयाँ सरकारको गठन हुनुपर्नेमा जोड दिँदै उहाँले तत्कालको राजनीतिक र संवैधानिक समस्या हल गर्न वर्तमान सरकारको राजीनामा आउनुुपर्ने धारणा राख्नुभयो । 
 
नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारले सहमति नगरी चुनाव घोषणा गरेकाले आर्थिक, राजनीतिक एवम् सामाजिक सन्तुलन बिग्रिएको उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो – अहिलेको एकमात्र निकास राष्ट्रिय सहमति हो, त्यसका लागि यो सरकारले सत्ता छोड्नुपर्छ । 
 
संसद नभएको अवस्थामा नयाँ कार्यक्रम ल्याउन नसकिने भन्दै उहाँले गत आर्थिक वर्षकै कार्यक्रम, योजना र नीतिका आधारमा नयाँ बजेट ल्याउनुपर्छ भन्नुभयो ।  कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले राजनीतिक सहमति नगरी सरकारले ल्याउने बजेटको कार्यान्वयनमा समस्या हुने बताउनुभयो । 
 
युवा सङ्घका अध्यक्ष महेश बस्नेतले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउन नदिने उल्लेख गर्दै सहमतिको आधारमा बजेट ल्याउन नयाँ सरकार आवश्यक भएको बताउनुभयो । रासस
 

Post Comment

More राजनीति

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • Kalika Event